गर्भावस्थाको समयमा दाँतको हेरचाह कसरी गर्ने ? डा अमृत राज जैशी

गर्भावस्थाको समयमा दाँतको हेरचाह आमा र बच्चा दुवैको समग्र स्वास्थ्य कायम राख्नको लागि अत्यन्तै महत्वपूर्ण हुन्छ। गर्भावस्थाको समयमा हुने हर्मोनल परिवर्तनहरूको कारण गर्भवती महिलाहरूमा विशेष गरी गिजा तथा दाँतको समस्या बढ्ने गर्दछ।

आमाको मुखको स्वास्थ्य अवस्था राम्रो भएन भने बच्चाको समग्र विकासलाई पनि असर गर्न सक्छ। त्यसैले यो समयमा महिलाहरूले आफ्नो समग्र स्वास्थ्य संगै दाँत र गिजाको आनि विशेष हेरचाह गर्न आवश्यक छ।


गर्भावस्थाको समयमा धेरै देखिने एक दन्त समस्यालाई 'प्रेग्नेन्सी जिंजीभाइटिस' भनिन्छ। यो एक प्रकारको गिजाको रोग हो जुन गर्भावस्थाको समयमा हर्मोनको गडबडीका कारणले हुने गर्दछ। जसले गिजा रातो हुने, सुन्निने र गिजाबाट रगत बग्ने लक्षण देखाउने गर्दछ।


यसलाई दाँत सफा गर्ने विधि स्केलिङ प्रयोग गरेर उपचार गर्न सकिन्छ। समयमा उपचार भएन भने एसले पेरियोडनटाइटिस भनिने गिजाको गम्भीर समस्या निम्त्याउन सक्दछ।


दाँत खिइने अर्को दन्त समस्या हो जुन गर्भावस्थाको समयमा देखा पर्दछ। हर्मोनको गडबडीले दाँतमा प्ल्याकको मात्र बढ्न सक्दछ जसको समयमा नै उपचार नगरेपछि दाँतमा समस्या हुन सक्छ जसले गर्दा गिजा सुन्निने, रगत बग्ने, मुख तथा सास गनाउने र दाँतहरू हल्लिने समस्या देखा पर्छन।


त्यसैले गर्भवती महिलाहरूले यसरी दाँतमा फोहर अर्थात प्ल्याक निर्माण हुनबाट जोगिनका लागि फ्लोराइड युक्त मन्जन र फ्लसको साथ दिनमा दुई पटक दाँत माझ्नु पर्दछ।



समयमा दाँत खिइएको पत्ता लगाउन र उपचार गर्नको लागि नियमित गिजा तथा दाँतको चेकजाँच महत्वपूर्ण छ।


गर्भावस्थाको समयमा देखिन अर्को समस्या वाकवाकी लाग्नु हो र यसले मुखको स्वास्थ्यलाई पनि असर गर्दछ। बान्तामा पाइने पेटको एसिडले दाँतमा रहेको इनामेललाई सडन गराउन सक्छ जसले दाँतको सम्वेदनशीलता बढाउने र खियाउने गर्दछ। गर्भवती महिलाहरूले बान्तापछि मुख कुल्ला गर्ने र सकेसम्म चाँडो दाँत माझ्नु पर्दछ।



गर्भावस्थाको समयमा लिइने औषधिको बारेमा राम्रो ध्यान दिनुपर्छ। केही औषधिहरूले मुखको स्वास्थ्यमा असर पुर्याउन सक्छन्। जस्तै बान्ताको उपचारमा प्रयोग गरिने केही औषधिहरूले मुख सुक्खा बनाउन सक्छ जसले दाँत खिइने र गिजाको जोखिम बढाउन सक्छ।



गर्भवती महिलाहरूले आफ्नो दन्त चिकित्सक र प्रसूति चिकित्सकसँग आफूले लिइरहेको कुनै पनि औषधिहरू बारेमा छलफल र सल्लाह गर्नु पर्दछ।



आफ्नो दाँतको र मुखको राम्रो हेरविचार गर्नु भनेको आफ्नो मात्र नभएर आफ्नो बच्चाको स्वास्थ्यमा पनि सहयोग पुर्याउनु हो। गिजाको रोग निम्त्याउने ब्याक्टेरियाहरू पनि जन्मको समयमा बच्चामा सर्न सक्छ जसले बच्चामा दाँत र गिजाको रोगको जोखिम बढाउन सक्छ।